११ फागुन, काठमाण्डौ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेलगतै काठमाण्डौ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्च अदालतसहित नेकपाको धुम्बाराही र पेरिसडाँडास्थित पार्टी कर्यालयमा सुरक्षा प्रबन्ध कडा परिएको हो।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई–अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा निकायलाई हाई–अलर्टमा बसालिएको हो ।
नेपाल प्रहरीका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ । सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।









