Ad #144479

९ फागुन, काठमाण्डौ । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको छ ।

नेपालको संविधानको धारा १८८ ‘४’ तथा प्रदेशसभा नियमावली २०७४ को १२९ ‘१’ बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो। राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।

आइतबार बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्ने भनेका थिए।

तर सभामुख प्रदीपकुमार भण्डारीले ढिलो गरि भए पनि बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भयो। अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका छन्।