४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वाेच्च अदालतमा आजबाट सुरु भएको एमिकस क्यूरी ( अदालतको सहयोगी ) ले वहस थालेका छन् । यसक्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान बनाउनेहरु नै अहिले संविधान संकटमा परेको भन्दै सडकमा ओर्लिएकाले सही व्याख्या गर्न आवश्यक रहेको बताएका छन् ।
संवैधानिक इजलाशमा वहस थाल्दै कार्कीले संविधानमा लेखिएको भन्दा बाहिर गएर सर्वाच्च अदालतले व्याख्या गर्न नसक्ने भन्दै यो मुद्धामा श्रीमानहरू अलमलिनुपर्ने कुनै कारण नरहेको प्रष्ट्याएका छन् । संविधान संकटमा परेकै छ, त्यसलाई जोगाउने काम संवैधानिक इजलाशले गर्नु आवश्यक छ – वरिष्ठ अधिवक्ता कार्कीले भने । देशका संवैधानिक संकट आएकाले त्यसलाई सही दिशा निर्देश गर्न न्यायालय अग्रसर हुनुपर्ने तर्क गर्दै उनले भने –लोकतन्त्रमा सबैले नियमकानून मानेर मात्रै अघि वढ्नुपर्ने हुन्छ ।
श्रीमान्हरुले यो मुद्धाको छिनोफानो गर्न संविधान मात्रै हेर्न पर्ने हुन्छ, अलमलिनुुपर्ने कुनै कारण छैन भन्दै कार्कीले संविधानमा लेखिएको भन्दा बाहिर जानै पर्दैन भने । विधायिकी मनसाय भनेको संविधानसम्मत हुनुपर्छ भन्ने मात्र हो ,त्यसैले इजलाशले संविधान पल्टाएर नै व्याख्या गर्नुपर्ने उनको तर्क छ । वहस जारी छ ।









