राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले गरे वसन्त श्रवण

४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन् । नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १० बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकका मुल पूजारीबाट वसन्त श्रवण गरेकी हुन् ।

आज सरस्वती पूजा तथा माघ शुक्ल पञ्‍चमीका दिन मनाइने ‘श्रीपञ्‍चमी’ पर्व विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ। आजकै दिनबाट वसन्त ऋतु सुरु हुने विश्वास रहेकोले पनि यसलाई वसन्त पञ्चमी समेत भन्ने गिरएकाे हाे ।

वसन्त श्रवणमा राजतन्त्रको समयमा राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने चलन छ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका छन् ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुख एवं विभिन्न उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा हुने वसन्त श्रवण कार्यक्रम यो वर्ष १०ः१७ बजे हनुमानढोका स्थित नासल चोकमा आयोजना गरिएको थियो । वसन्त श्रवणको शुभ साइत पञ्चाङ्ग निर्णायक समितिले जुराउने गर्छ ।

वसन्त पञ्चमीलाई वैदिक कालमा नै कामदेव र रतिको पूजा गरेर मनाउने गरिएको थियो । वसन्त र कामदेवलाई साथीसाथी मान्ने गर्छन् । त्यसैले पुराणमा उल्लेखित कामदेव र वसन्तको मित्रताको कथालाई श्रवण गर्ने गरिन्छ ।