प्रचण्ड-माधव समूहको जुलुस विभिन्न स्थानबाट निस्किन सुरु

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन निम्याएको आरोप लगाउँदै प्रचण्ड–माधव समूहले आज राजधानीमा विरोधसभा गर्न लागेको छ । यसका लागि आज बिहानैदेखि राजधानीका विभिन्न ठाउँबाट नाराजुलुससहित मानिसहरु भेला हुन थालेका छन् ।

देशव्यापीरुपमा मानिस ल्याएको भान हुनेगरी नाराजुलुस लागिरहेको छ । यतिबेला राजधानीको मुख्य सडकमा प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ताको उपस्थिति छ । राजधानीका विभिन्न स्थानबाट केन्द्रीय नेताहरुको नेतृत्वमा जुलुस निस्किएको छ ।

जुलुस भृकुटीमण्डप अगाडि आमसभामा परिणत हुँदैछ । आजको विरोधसभालाई राष्ट्रियस्तरको बनाउन लागिएको नेताहरुले बताएकाछन् । सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ,रघुजी पन्त, रामकुमारी झाँक्री लगायतले संवोधन गर्नेछन् ।

यसैबीच,  नेकपा प्रचण्ड-माधव समूहको जुलुस विभिन्न स्थानबाट निस्किन सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् ।