प्रदेश १ : प्रदेशसभा बैठकमा नेकपाको दुई पक्षबीच विवाद

२५ माघ,काठमाडौं । प्रदेश १ को आज बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपा ओली पक्षका सांसदहरु आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा छन भने प्रचण्ड–माधव पक्षका सांसदहरु बैठक रोक्न नहुने पक्षमा रहेका छन् ।

उक्त विवादले गर्दा ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको छ । परामर्श समितिको बैठक अघि ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच भएको छलफलमा ओली पक्षका सांसदहरुले आजको बैठक सुचना टाँसेर स्थगित गर्नुपर्ने बताएका थिए ।

तर, प्रचण्ड–माधव पक्षका सांसदहरुले भने बैठक कुनै हालतमा स्थगित गर्न नहुने बताएका थिए । प्रचण्ड–माधव पक्षका सांसदहरुले आजको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेवल हुनुपर्ने बताउदै आईरहेका छन् ।