२५ माघ, विराटनगर । प्रदेश १ को नियमित तथा सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार विराटनगरस्थित प्रदेशसभा हलमा बस्दैछ।
सत्तारुढ दल नेकपाभित्र देखिएको चरम असन्तुष्टिसँगै बढ्दो विवादका कारण बैठकले निरन्तरता पाउन सकेको छैन। यसअघि माघ ७ गते बोलाइएको पहिलो बैठक विवादकै कारण प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र पढेर स्थगित भएको थियो।
आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठकको तयारीका लागि सभामुख प्रदीपकुमार भण्डारीले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्षधरबिच विवाद कायमै रहेको छ। दाहाल र नेपाल पक्षले प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि बैठक कसरी अघि बढ्नेछ भन्नेमा चासो बढेको छ।
दाहाल नेपाल समूह आइतबार हुने बैठकमा अविश्वासको प्रस्ताव टेबल गर्नुपर्ने अडानमा कायम रहेको छ। तर, मुख्यमन्त्री राई पक्ष भने आफूविरुद्ध पत्र दर्ता गराएका १६ जनाविरुद्धको कार्वाहीलाई यथावत राख्ने पक्षमा रहेको छ।
बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ ।












