तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु : गृहमन्त्री

२३ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित केपी ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभामा उनले अब तेस्रो जनआन्दोलनको थालनी भएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ ।

यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ ।’ अहिलेको परिस्थितिको सामना गर्नका लागि अहिलेको अवस्था सिर्जना भएको पनि उनले दाबी गरे । सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले बताए ।

अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे । उनले आम निर्वाचनको माध्यमबाट आफूहरुले आन्दोलनको थालनी सुरु गरेको बताएका छन् । नारायणहिटी अगाडि सभा गरेर आफूहरु गणतन्त्रप्रति प्रतिबद्ध रहेको औचित्य पनि प्रमाणित गरेको गृहमन्त्री थापाले दाबी गरे ।