Ad #144479

२३ माघ, काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ ।

यसैबीच, राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले काठमाडाैं उपत्यकामा आज सभा राखेको छ । गत माघ ९ मा नेकपा प्रचण्ड-माधव समूहले बृहत सभा गरेपछि त्यसको काउण्टरमा हुन लागेको सभामा दुई देखि तीन लाख मानिस सहभागी हुने सो समूहका नेताहरुको दाबी छ ।

नेकपा ओली समुहको काठमाडौंमा जुलुस निस्किने भएको छ । प्रधानमन्त्री केपी ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टीले राजधानीका १६ स्थानबाट दरबारमार्गमा जुलुस एकीकृत गर्ने भएको हो ।

स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार अहिले केही बेरमा १६ वटै ठाउँबाट जुलुस निस्किँदैछ। ती सबै ठाउँबाट जुलुसमा आउने सवारीसाधनलाई व्यवस्थापन गर्न दरबारमार्ग तथा आसपासका क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दिउँसो १ बजेसम्म जुलुस निस्किने हुँदा ट्राफिक व्यवस्थापनमा असहज हुने देखिएको छ। दरबारमार्गमा आमसभा रहेकाले त्यहाँ सवारीसाधन सञ्चालन हुने सम्भावना न्यून रहेको छ ।

सभाका लागि तयार गरिएका तीन हजार स्वयंसेवक वाकिटाकीसहित परिचालन भैइसकेका छन् । स्वयंसेवकले फोहोर सफा गर्ने र फोहोर नगर्ने कुरामा बढी ध्यान दिएर सभा व्यवस्थापन गर्नेे भएका छन् ।

१६ वटै ठाउँबाट आउने जुलुस दरबारमार्गको चार लेन सडकमा बस्ने छ। आमसभाका मुख्य वक्ता प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा छन्। जुलुसमा तीन लाख जनसंख्या उतार्ने योजना ओली समुहको छ ।

यस्तै, घन्टाघरबाट मुस्लिम समुदायका सहभागीहरूको जुलुस पनि निस्किने भएको छ । नेपाल एयरलाइन्सको कार्यालय अगाडि ललितपुर जिल्लाको, त्रिपुरेश्वरमा चितवन, धादिङ र सोही बाटो भएर आएने सबै सहभागीहरूको जुलुस छ।

गौशालामा भक्तपुर, माइतीघरमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली जिल्लाबाट आउनेको जुलुस, पुतलीसडकमा सबै जनवर्गीय संगठनको, लैनचौरमा नुवाकोट र रसुवा जिल्ला, सोह्रखुट्टै नयाँ रोडमा मकवानपुर भीमफेदीको बाटोबाट आउनेको जुलुस छ।

यसैगरी, टेकुबाट काठमाडौं क्षेत्र नम्बर ९ र १०, वसन्तपुरमा क्षेत्र नम्बर ८, सोह्रखुट्टेमा क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरमा क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरमा क्षेत्र नम्बर १ र २ को जुलुस निस्किने छ ।