धाकधक्कु लगाउने दिन गए : ओली

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धाकधक्कु लगाउने दिन गएको चेतावनी दिएका छन् । नेकपाको प्रचण्ड–माधव समूहले नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उनले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरेका हुन् ।

बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो । साथै प्रचण्डले हामी यहाँ छौं भनेर अदालतलाई र निर्वाचन आयोगलाई धम्क्याएको ओलीले टिप्पणी गरे ।

आमहड्ताल आह्वान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट जनताले पाएको दुखको तमासा हेर्दै हिँडेको ओलीले आरोप लगाएका छन् । उनले कार्यकर्ता नभई नेताहरु आफैं सडकमा उत्रिएको भन्दै व्यंग्य समेत गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनुनपर्ने भन्दै ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउछौं भन्ने मनोबलका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धिकरणसहित सुदृढ भएर अघि बढ्ने दावी गरेका छन् । ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड माधव समूह भएको आरोप लगाएका छन् ।