२१ माघ, काठमाडौं । राजधानीमा संसद भवनअगाडि आधा घण्टा चक्काजाम भएकाे छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को प्रचण्ड–माधव समूह यतिबेला आन्दोलित रहेको छ ।
सो समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तरगत आज विद्यार्थीहरुले राजधानीमा संसद भवनअगाडि आधा घण्टा चक्काजाम गरेको हाे ।
यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो । सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएकाे अनेरास्ववियुका एक नेताले बताए ।













