१९ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई यसअघि पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने भनी गरेको निर्णयलाई आज अनुमोदन गर्दैछ ।
अहिले यो समूहको बैठक राजधानीको बबरमहलस्थित कार्की बैंकेटमा बसिरहेको छ । यसअघि केन्द्रीय कमिटी बैठकका लागि अजेण्डा तय गर्न सोही स्थानमा पार्टी सचिबालय बैठक बसेको थियो ।
आजको बैठकले ओलीलाई यसअघि पार्टीबाट निकाला गर्ने भनी गरिएको निर्णय अनुमोदन गर्नुका साथै प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नयाँ कार्यक्रम समेत तय गर्ने बुझिएको छ ।
सचिबालय बैठकले निर्वाचन आयोगले यसअघि छलफलका लागि बोलाएको सन्दर्भमा समेत स्पष्ट धारणा बनाएको छ । पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूले पाउनुपर्ने अडान कायमै राख्ने भन्दै यस प्रयोजनका लागि आयोगले आवश्यक ठानेका बेला छलफल गर्न तयार रहेको धारणा बनाएको बुझिएको छ ।












