Ad #144479

१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीका सहयोगीहरु चुनावको मुखमा धमाधम पैसा उठाउन लागिपरेका छन् । अरु त अरु ओलीका क्याबिनेट मन्त्री नै सरकारी कार्यालयमार्फत खर्च उठाउने धन्धामा लागेको जानकारी प्राप्त भएको छ ।
ओली मन्त्रिपरिषदका कानून मन्त्री लीलानाथ श्रेष्ठले यस्तो धन्धा थालेको स्रोतको भनाईछ ।

मन्त्री श्रेष्ठले सिराहा जिल्लाका मालदार कार्यालयका प्रमुखहरुलाई लिखित रुपमा पत्र नै काटेर खर्च मागेको बताइएको छ ।
मन्त्री श्रेष्ठ नेकपा ओली समूहका सिराहा इन्चार्जसमेत हुन् । उनले पठाएको पत्र भने मन्त्रीको हैसियतमा नभई पार्टीको जिल्ला इन्चार्जको रुपमा रहेको छ ।

चन्दा दिन भनी काटिएको पत्रमा यति उति भनेर उल्लेख नगरिएको भएपनि मौखिक रुपमा उनले कमाउ अड्डाका हाकिमहरुलाई ५० हजार रुपियाँ उपलव्ध गराउन दबाव दिएको स्रोतले बतायो ।

पत्रमा भने आज सदरमुकाममा आयोजना हुने स्व.हेमनारायण यादवको १७ औं स्मृति दिवसको उपलक्ष्यमा आवश्यक रकमको जोहो गर्न भनिएकोछ । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आजै सिरहा पुग्दैछन् ।