Ad #144479

१९ माघ, हेटौंडा । आजका लागि निर्धारित बाग्मती प्रदेशसभाको बैठक हिजो राति अबेर सभामुख सानुकुमार श्रेष्ठले सूचना टाँसेर आउने फागुनको पहिलो सातासम्म स्थगित गरेपछि सभा भवन अगाडि नाराबाजी भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा आज छलफल गर्ने कार्यक्रम तय भएको थियो । यसै प्रयोजनका लागि राजधानी केन्द्रित विरोध कार्यक्रम स्थगित गरी प्रदेशसभा सदस्यहरु साँझै हेटौंडा आइपुगेका थिए । तर बिहान मात्रै धेरै सांसद्हरुले स्थगन भएको जानकारी पाए ।

सरकार अल्पमतमा परेकोले राजीनामा दिनुको सट्टा बैठक नै छलेर जान खोजेको भन्दै प्रचण्ड–माधव समूहका सांसद्हरुले नाराबाजी गरे । विरोध कार्यक्रमको अगुवाई स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले गरेकी छन् । त्यहाँ उपस्थित सांसद्हरुले अल्पमतको सरकार राजीनामा दे भन्ने नारा समेत लगाएका छन् ।

सभामुख श्रेष्ठ सत्ताको छायामा परेको भन्दै शाक्यले त्यसका विरुद्ध आवाज उठाउने जानकारी दिइन् । आजै पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना धारणा प्रष्ट पार्नेपनि नेतृ शाक्यले बताइन् ।