१६ माघ, काठमाडौं । नेकपाको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगले टुंगो लगाउन नसकेपछि आज दुबै पक्षलाई डाकेको बैठकमा सहभागी हुने नहुने विषयमा लामो छलफलपछि प्रचण्ड–माधव समूह जाने भएको छ ।
अहिले साढे ११ बजेका लागि डाकिएको बैठकमा सहभागी नहुने पक्षमा केही नेता रहेपनि अन्ततः सहभागी भएर आफ्ना कुरा राख्ने निश्कर्ष नेताहरुले निकालेका छन् । बिहान नेताहरु भेला भइ छलफल गर्दा आयोगको भूमिका सन्देहास्पद भएपनि बैठकमा गएर आफ्ना भनाई प्रष्टसँग राख्नु उचित हुने सहमति बनेको नेता राजेन्द्र पाण्डेले बताए ।
आयोगले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएपनि त्यही कमिटीको दुई तिहाई सदस्यले गरेको निर्णय भने अमान्य भनेकाले प्रचण्ड – माधव समूह सशंकित बनेको हो । आज भएको सहमति अनुसार, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे ,लीलामणि पोखरेल, बेदुराम भूषाल,मुक्ति प्रधान र रामकुमारी झाँक्रीलाई पठाइने भएको छ ।
यस्तै प्रधानमन्त्री केपी ओली पक्षले पनि विष्णु पौडेल सहित सुभाषचन्द्र नेम्बाङ,कृष्णगोपाल श्रेष्ठ,रामेश्वर फुँयाल र विमला राईलाई आयोग पठाएको छ ।आयोगले दुबै पक्षका पाँच पाँच जना नेतालाई सहभागिताका लागि बोलाएको थियो ।












