प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टीको साधारण सदस्यबाट निकाला गर्ने

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपामा एकले अर्कालाई निष्काशन गर्ने होड नै चलेको छ । पुष ५ गते प्रतिनिधिसभा विघटन गरिएपछिको श्रृँखलावद्ध घटनाक्रम हेर्ने हो भने ओली र प्रचण्ड–माधव पक्ष एक्स्ट्रम प्वाइण्टमै पुगेको देखिन्छ ।

पुष ६ गते ओली पक्षले बालुवाटारमा गरेको केन्द्रीय कमिटी बैठकलले झण्डै ६ सय केन्द्रीय सदस्य थपेर कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटायो । तर सचिवालय सदस्यदेखि केन्द्रीय कमिटीमा भने यथावत् राखेको छ ।

लगत्तै पुष ७ गते बबरमहलस्थित कार्की बैंकेटमा बसेको प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई नियुक्त ग¥यो । यो क्रम जारी छ ।  आज त ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत निकाला गर्ने गरी बैठकको आयोजना गरिएको छ ।

आज पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भर्खरै सुरु भएको स्थायी कमिटीको मुख्य अजेण्डा नै ओली निष्काशन रहेको सदस्य बेदुराम भूषालले जानकारी दिएका छन् ।  यसका अलावा आजको बैठकले गत शुक्रबार राजधानीमा सम्पन्न विरोधसभाको समीक्षा गर्ने र आगामी आन्दोलनको कार्यक्रमको खाका तय गर्ने अजेण्डापनि रहेको स्थायी कमिटी सदस्य भूषालले बताए ।

[sidebar name="button post"]