९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले राजधानी केन्द्रित आन्दोलनले प्रधानमन्त्री केपी ओलीको सातो लिने उद्घोष सो पार्टीका नेताहरुले गरेका छन् । राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुस यतिबेला भृकुटीमण्डप अगाडि विरोधसभामा रुपान्तरित भएको छ ।
उक्त विरोधसभालाई संवोधन गर्दै नेताहरुले ओलीप्रति आक्रोश पोखे । ओली कम्युनिष्ट पार्टीको नाममा प्रतिक्रृयावादी तत्व भएको भन्दै नेताहरुले ओलीलाई भगौडा र प्रतिगमनको पुच्छर भएको बताए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले ओली नक्कली कम्युनिष्ट भएको भन्दै उनलाई पार्टीको साधारण सदस्यबाटसमेत निष्काशन गरिएको बताए । नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन उद्यत् ओलीलाई गलहत्याएर आफूहरुले राम्रो काम गरेको उनको दाबी थियो ।
यसअघि बोल्दै वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता मापन गर्न राजधानीमा उर्लेको जनसागर हेरे पुग्ने भन्दै ओलीलाई काठमाडौको सडक हेर्न चुनौती दिए । सानो गुटको नेता बन्ने ओलीको रहर पूरा हुने तर नेकपा भन्ने दलसँग भने कुनै साइनो नरहने उनले बताए ।
यस्तै स्थायी कमिटी सदस्य घनश्याम भूषालले ओलीको शक्ति क्षिण भइसकेको भन्दै केवल साइबर सेनाको नेतृत्वमै चित्त बुझाउन सल्लाह दिए । विरोध सभा जारी छ ।











