Ad #144479

६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले अब संसद रहेन, संसद नरहेपछि देशमा प्रधानमन्त्री पनि नरहने बताएका छन् । आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’

नेपालले प्रधानमन्त्री केपी ओलीले पद नछाड्ने पनि उनले बताउदै ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो भनेर बताएका छन् । ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भर्‍याङ बनाएको सोही कार्यक्रम मार्फत उनले टिप्पणी गरेका छन् । ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ ।

अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको बताए । ‘ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन’, उनले भने, ‘मैले १५ वर्ष पार्टी चलाएको हो । मुल लिडरसिप बोकेको हो । पछि आएका ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेका हुन् । त्यसकारण मुल एमाले म हुँ ।’

प्रचण्डसँग ४० वर्षदेखि संगत भएको बताउँदै उनले दुई जनाको सहकार्य लामो समयसम्म जाने समेत बताए ।