नेकपाको एउटा गुट सरकारमा, अर्काे गुट सडकमा

२ माघ, काठमाडौं । नेपाली कांग्रेससँग संयुक्त रुपमै आन्दोलन गर्न औपचारिक प्रस्ताव गर्न हिजो सभापति शेरबहादुर देउवा निवास पुगेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल रित्तै हात फर्के । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई चिरा परेको नेकपा कानूनी रुपमा एउटै रहेको यथार्थ देउवाले प्रष्ट्याएपछि प्रचण्ड – नेपाल नयाँ रणनीति बनाउन लागेका छन् ।

व्यावहारिक रुपमा नेकपा दुई फ्याक भएपनि निर्वाचन आयोगले एउटै दलका रुपमा व्यवहार गरिरहेको अवस्था छ, त्यसैले हामी कुनैपनि नेताको ललीपपमा फस्ने कुरै भएन – देउवा निकट एक नेता भन्छन् ।  जबसम्म नेकपा विभाजनको औपचारिक घोषणा हुँदैन , तबसम्म काँग्रेस एकल आन्दोलनको पक्षमा अडिग रहने रणनीति रहेको उनले प्रष्ट्याए । हिजोपनि प्रचण्ड–माधवले देउवालाई संयुक्त आन्दोलन गरी संसद् पुनस्थापनापछि प्रधानमन्त्री बन्नसमेत अफर गरेका थिए ।

तर उनीहरुको ललीपपमा फस्ने कुरा भनेका केटाकेटीपन मात्र हो । किनभने नेकपाको एउटा गुट सरकारमा छ भने अर्काे गुट सडकमा, त्यसैले पार्टीको आधिकारिकताबारे टुंगो नलागेसम्म काँग्रेस कसैको पक्षमा लाग्ने अवस्था नरहेको देउवाले प्रष्ट्याएका थिए । देउवालाई सत्ताको लोभ छ, भन्ने सन्देश दिने गरी उनीहरु आउनु भएको थियो , तर पहिला तपाईंकै हैसियत क्लियर गर्नाेस् अनि मात्रै थप छलफल गरौंला भन्दै देउवाले प्रचण्ड–नेपाललाई सम्भावित परिदृश्यबारे जानकारी दिएका थिए ।

देउवाले नेकपा एक भएसम्म कसैसँगपनि औपचारिक रुपमा सहकार्य नगर्ने धारणा प्रष्ट गरेपछि प्रचण्ड–नेपाल पक्ष नयाँ शीराबाट अगाडि बढ्ने तयारीमा जुटेका छन् । यसका लागि आजै स्थायी कमिटी बैठक भइरहेको छ । पेरिसडाँडास्थित मुख्यालयमा भएको बैठकको अध्यक्षता प्रचण्डले गरेको स्रोतले जनाएको छ । आजको बैठकले आन्दोनलको नयाँ स्वरुप र ढाँचा तयार गर्ने बताइएको छ ।

खासगरी नेपाली कांग्रेसले ओली र आफूहरुसँग समदूरी राख्ने आश्वासन दिएकाले एकल आन्दोलन गर्ने तर स्वरुप भने फेर्ने पक्षमा रहेको स्रोतले बताएको छ । सत्तामा रहेको ओली पक्षलाई बल पुग्ने गरी निर्वाचन आयोगबाट गतिविधि अगाडि बढ्न थालेको भन्दै अबको संघर्ष अलि कडै खालको हुने धारणा यो पक्षको रहेकोछ । सकेसम्म आजै बैठक टुंग्याएर सशक्त आन्दोलन चर्काउने उनीहरुको योजना रहेको छ ।

आफूहरुको आन्दोलन त्यति प्रभावकारी नहुनुमा ओलीको सत्ता असर पनि कारक रहेको भन्दै यसको गम्भिर समीक्षा गर्ने पक्षमा रहेको बुझिएको छ । आजकै बैठकबाट अब ओली पक्षमा रहेका सबैलाई जिम्मेवारीमुक्त गरी आफ्नो पक्षका मानिस राखेर आन्दोलन चर्काउने रणनीति रहेको बुझिएको छ ।

[sidebar name="button post"]