Ad #144479

२९ पुष, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओली आफ्ना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भोलिबाट भारतको औपचारिक भ्रमणका लागि पठाउँदै छन् । भ्रमणका बेला नेपाल भारतबीच दीर्घकालिन प्रभाव पर्ने विषय र मुद्धामासमेत सन्धि सम्झौता गर्ने तयारी रहेको स्रोतले बताएको छ ।  यस्तो गाइँगुई कर्मचारीवृत्तमा समेत देखिएको छ । त्यसैले नागरिक समाजका अगुवा एवं पूर्व राष्ट्रसेवकहरुले सरकारलाई त्यसो नगर्न खबरदारी गरेका छन् ।

आज समाजका १५ जना अगुवाहरुले संयुक्त विज्ञप्ति निकालेरै कामचलाउ सरकारका परराष्ट्रमन्त्रीले भारतसँग दीर्घकालिन असर पर्ने सम्झौता नगर्न चेतावनी दिएका छन् । जसमा पूर्व मुख्यसचिवहरु लीलामणि पौडेल, डा. सोमलाल सुवेदी, पूर्व अख्तियार प्रमुख सूर्यप्रसाद उपाध्यायलगायत नागरिक अगुवा रहेका छन् । कामचलाउ मन्त्रीका हैसियतले भ्रमणमा जान लागेका मन्त्री ज्ञवालीले दीर्घकालिन असर पर्ने खालका कुनैपनि सन्धि वा सम्झौता गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

आज वक्तव्य जारी गर्नेहरुमा डा. ऋषि अधिकारी,इन्दिरा दली,कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाईं,दीपेन्द्रबहादुर क्षेत्री,निनु चापागाईं,मानवी पौडेल,युवराज पाण्डे,डा. सूर्यराज आचार्य,शारदाप्रसाद त्रिताल,डा. शूरवीर पौडेल र हृरण्यलाल श्रेष्ठ समेत रहेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मितिसमेत घोषणा गरेकोले सरकार स्वतः कामचलाउ भएको उनीहरुको ठहर छ ।

अहिलेको तरल राजनीतिक अवस्थाका बेला परराष्ट्रमन्त्रीको भारत भ्रमण आफैंमा विवादित हुन सक्ने भन्दै यो भ्रमण केवल द्विपक्षीय सम्बन्ध सुधारमा मात्रै केन्द्रित हुनुपर्ने उनीहरुको तर्क रहेको छ ।मन्त्री ज्ञवाली भारतको तीनदिने भ्रमणका लागि भोलि त्यसतर्फ जाँदैछन् ।