Ad #144479

२७ पुष, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताउनुभएको छ ।

राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस विज्ञप्ति मार्फत उहाँले नेपालको भौगोलिक एकीकण गरी भाषिक, जातीय, सांस्कृतिकलगायत अन्य विविधताका बीच एकताको आधार निर्माण भएको उल्लेख गर्नुभएको छ ।

मुलुकमा एकताको आधारमा टेकेर जनआन्दोलन, जनक्रान्तिलगायत विभिन्न राजनीतिक सङ्घर्ष मार्फत हामी अहिले सङ्घीय लोकतान्तिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेको बताउँदै उहाँले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई केन्द्रित हुन यस दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्ति मार्फत विश्वास व्यक्त गर्नुभएको छ ।