२१ पुष, कञ्चनपुर । भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । सोमबार बेलुका करिब साढे ६ बजेतिरकञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते हुनु भएकाे छ ।
घाइते हुनेमा दोधार चाँदनी नगरपालिका-१ का स्थानीय नरेश सुनार रहेकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ । उहाँको खुट्टामा गोलीको छर्रा लागेको छ । घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार गोली भारतीय भूमिमा चलेको देखिएको छ । तर भारतीय सीमा सुरक्षा बल ‘एसएबी’ ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको छ ।
गोली एसएसबीले चलाएको हो वा वन रक्षकले चलाएको हो, खुलेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको छ ।
यता, दोधारा चाँदनी नगरपालिका १ का वडाध्यक्ष अर्जुनदत्त भट्टका अनुसार भारतीय वन क्षेत्रमा टीकका (सकवान) पात टिप्न गएका बेला सुनारमाथि गोली चलेको हो ।












