प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१२ पुष, काठमाडौं । बर्खास्त गरिएका मन्त्रीकै अगुवाईमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका छन् ।

अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । उनलाई हिजो मात्रै मुख्यमन्त्री राईले बर्खास्त गरेका थिए ।

समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।

प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद मात्रै रहेका छन् ।

[sidebar name="button post"]