२७ मंसिर, पर्सा । पर्सामा ४७ बर्षिय पुरुषको शव फेला परेको छ । बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने वीरगञ्ज–३२ पारसवाका सुरेन्द्र साह सोनारको शव फेला परेको हो । सोनारको शव गाउँकै कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक ‘एसपी’ गंगा पन्तले घटना हेर्दा गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा शुक्रबार शव फेला परेको बताउनु भयाे । उनको शवसँगै रगत लागेको लठ्ठी पनि शवको छेउमै भेटिएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
सोनार मंसिर २५ गते बिहीबार साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर निस्किएका थिए । विवाहस्थलभन्दा ५ सय मिटर उत्तरतर्फ कुलोमा शव भेटिएको छ । गाउँलेले शव देखेपछि बिहान ११ बजे प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ । सुरेन्द्रले मोबाइल फोनसमेत नबोक्ने भएकाले अनुसन्धानमा समस्या भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।












