२६ मंसिर, मोरङ । युवतीमाथि भएको बलात्कार घटना ५ लाख रुपैयाँ खाएर मिलापत्र गर्ने ६ जना पक्राउ परेका छन् । घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ बस्ने ५३ वर्षीय मथालु खवास छन् ।
गएको भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले ती युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले सुरेशलाई मंसिर १९ गते नै रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा गाउँमै पीडित पक्षलाई उक्त रकम दिने प्रलोभनमा पारी मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।












