१२ मंसिर, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार आज दिनभर पारिलो घाम नलाग्ने जनाएको छ । अहिले पश्चिमी वायुको प्रभाव रहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण गण्डकी, वाग्मती र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो । मौसमी बुलेटिनका अनुसार आज गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ । बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने छ । यसैबीच भारतमा आएको निवार नामक तुफानको असर नेपालमा नपर्ने मौसमी बुलेटिनमा उल्लेख गरिएको छ ।
तुफान कमजोर बन्दै गएकाले यसको असर नेपालमा नपर्ने तर बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभाव के कति पर्छ भन्नेबारे अध्ययन विश्लेषण भैरहेको र अहिले नै यकिन गर्न नसकिने बताइएको छ ।









