Ad #144479

११ मंसिर, काठमाडौं । संसदीय समितिको बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएका छन् । उनी बिहीबारका लागि बोलाइएको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा नगएका हुन् ।

समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाएको थियो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले आजको बैठकमा अनुपस्थित भएकाले प्रधानमन्त्रीलाई पुनः बोलाउने निर्णय भएको जानकारी दिए ।समितिले सरकारलाई अविलम्ब संवैधानिक आयोग प्रमुख तथा पदाधिकारी नियुक्त गर्न निर्देशन दिएको छ । संवैधानिक अंग रिक्त हुनु दुर्भाग्यपूर्ण भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग लगायतका आयोगहरू पदाधिकारीविहीन छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग आदिमा पूर्ण पदाधिकारी छैनन् ।

संसदीय सुनुवाई समितिले संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारलाई छुट्टै ऐन बनाउन निर्देशन दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का सांसद देव गुरुङ, नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देव लगायतले छुट्टै कानुन नहुँदा समावेशीता कार्यान्वयन ओझेलमा परेको धारणा राखेका थिय ।