महोत्तरी आन्दोलन : मृत्यु भएका सञ्जयलाई शहिद घोषणा गर्ने सहमति

१० मंसिर, महोत्तरी । बालिका बलात्कारपछि हत्या प्रकरणमा महोत्तरीमा चर्किएको आन्दोलन रोक्ने सहमति भएको छ । ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको पनि मृत्यु भएपछि महोत्तरीको बर्दिबास दुई दिनदेखि तनावग्रस्त थियो ।

बिहीबारसम्म कर्फ्यु जारी भएको बर्दिवासमा बुधबार साँझ आन्दोलनरत पक्ष र प्रशासनबीच सहमति भएको हो । वार्तामा पीडितलाई क्षतिपुर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार भोलिदेखि आन्दोलनलाई साम्य पार्दै अवस्था सहज बनाउने दुवै पक्षबीच छलफल समेत भएको छ । वार्तामा आन्दोलनरत पक्षबाट वार्ता टोलीका संयोजक कांग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामणि पोखरेल र हिरा गौतम लगायत थिए भने प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रतिनिधि रहेका थिए। सहमति आन्दोलनरत पक्षले मानेको खण्डमा भोलि बिहीबारदेखि कर्फ्यु खुल्नेछ ।

[sidebar name="button post"]