Ad #144479

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका १२ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष सहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रशाद जोशी, नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, दाइ र भाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्वर १२ कै खुसिराम चौधरी र गीता चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताउनुभयो ।

उहाँका अनुसार २०७५ साल फागुन २० गते वडाध्यक्ष जोशीले बंशजका आधारमा अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेका थिए । बुवा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्वर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेका र खोजी भैरहेको पनि विष्टले जानकारी दिनुभयो ।

भारतीय नागरिक अन्सारी अहिले कैलालीकै टीकापुर नगरपालिकाको वडा नम्वर ७ मा बस्दै आएका छन् । प्रहरी नायव उपरिक्षक विष्टका अनुसार पक्राउ परेका चार जनामाथि नागरिकता ऐन अनुसार कारवाही हुनेछ । ऐनमा बिदेशीले नेपाली नागरिक भएको झुठो दावी गरि नागरिकता प्राप्त गरेमा एक बर्षदेखि ५ बर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

नागरिकताका लागि सिफारिस र सनाखत गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन महिनासम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।