कोरोना सङ्क्रमण र लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६÷०७७ मा सप्तरी र सिरहाका २६ किलोमिटर सडक कालोपत्रे भएको छ। लकडाउनकै बीच आर्थिक वर्ष २०७६÷०७७ मा सिरहाको १२ र सप्तरीका १४ किमी सडक कालोपत्रे भएको सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ ।
सिरहाको लहान–भगवानपुर ठाडी सडकमा साढे पाँच किमी, बन्दीपुर–उत्तराइनी सडकमा एक हजार ६०० मिटर, कर्जन्हा–बस्तीपुर सडकमा एक हजार २०० मिटर, हुलाकी सडकअन्तर्गत गणेशपुर चौकदेखि गोलबजारसम्मको ९५० मिटर, कसहा–औरही सडकमा ९०० मिटर र कसहा–मुक्सार सडकमा ५०० मिटर कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रविन्द्रलाल दासले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको शम्भुनाथ ट्राफिक चौक–बनैनियाँ सडकमा आठ किमी, रुपनी–कटैया सडकमा तीन किमी, रुपनगर चौकदेखि कञ्चनपुर सडकमा एक हजार ३०० मिटर र बरमझिया पूर्व सडकमा ८०० मिटर सडक कालोपत्रे गरिएको प्रमुख दासले बताउनुभयो । सिरहा, सप्तरी र उदयपुरमा करिब ३५ किमी सडक स्तरोन्नति तथा निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।









