कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे (घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् ।
बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट रु २० लाख ऋण निकालेर होमस्टेमा लगानी गर्नुभएको थियो । उहाँको यस व्यवसाय विस्तारै फस्टाइरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु उहाँको होमस्टेमा आउने क्रम बढ्दै थियो । उहाँलाई केही वर्षअघि नै होमस्टे शुरु गर्न पाएको भए राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको पनि थियो ।
आम्दानी भएपछि ऋण चुक्ता गर्न उहाँलाई खासै समस्या थिएन । बैंकलाई पाँच लाख रुपैयाँ बुझाउन बाँकी थियो । पाँच महिना यता भने उहाँलाई त्यो व्यवसाय निकै समस्या बन्न पुग्यो । कोभिड–१९ को प्रभावपछि पर्यटकको आगमन नभएपछि अब बैंकको ऋण कसरी तिर्ने र आफ्नो गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ । उहाँ भन्नुहुन्छ, “कोही पाहुना आइहाले पनि रोगको सङ्क्रमणको त्रासले गर्दा डराउनुपर्ने स्थिति छ ।”
गत चैतमा लकडाउन भएपछि मासिक पाँच हजार रुपयाँ किस्ता तिर्न पनि मुस्किल परेको जैसीले बताउनुभयो । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालकले आम्दानीको विकल्प रोज्न थालेका छन् । यतिबेला जैसीको पाहुना घर खाली छ । यो समयमा उहाँ पाहुना कुरेर बस्नुभन्दा आयआर्जनको विकल्पका रूपमा पहिलेकै झैं कृषि पेशा अँगाल्नु भएको छ ।यसै महिना उहाँले ३० वटा बाख्रा खरिद गरेर बाख्रापालन गर्न शुरु गर्नुभएको छ । बाख्रासँगै भैंसी, कुखुरा पनि पाल्ने योजना रहेको उहाँ बताउनुहुन्छ । उहाँले भाडामा लिएको तीन बिघा जग्गामा गोलभेंडा खेती गर्न थाल्नु भएको छ ।
उहाँको नौ जनाको परिवार सबै खेतीपातीमा खटिएका छन् । “पाहुनासँग डराउनु पर्ने स्थिति आयो, पेट पाल्न विकल्प रोज्नै प¥यो,” उहाँले भन्नुभयो, “होमस्टेलाई एग्रो फार्मका रूपमा विकास गर्दैछु ।”बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाभर भ्याली होमस्टे सात वर्षदेखि सञ्चालनमा छ । खासगरी सुदूरपश्चिमका पर्यटकीय स्थल रारा, खप्तड, धनगढी, कञ्चनपुर, बर्दिया निकुञ्जलगायत स्थलमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक विश्राम गर्ने केन्द्र यही हो । यहाँका १७ घर होमस्टेमा अहिले पाहुना आउँदा स्वागत त के डराएर कसैले राख्न खोज्दैनन् । ऋण गरेर लगानी गरेको व्यवसायमा यसरी एक्कासि घाटा खेप्नुपरेपछि व्यवसायीहरु चिन्तित बनेका छन् ।
होमस्टे व्यवसायी कर्णराज रोकायले दुई वर्षअघि होमस्टेमा प्रशस्त सम्भावना देखेर लगानी लगाउनुभएको थियो । यसमा उहाँले सोचेभन्दा राम्रो आम्दानी पनि भएको थियो । थप लगानी लगाएर होमस्टेलाई व्यवस्थित गर्ने सोचसमेत बनाउनु भएको थियो । वन डिभिजनमा करारको जागिर छोडेर उहाँले व्यवसायमा हात हाल्नुभएको हो । अहिले भने उहाँ लगानी डुब्ने चिन्तामा हुनुहुन्छ । झन्डै २२ हजार रुपैयाँ बैंकको ब्याज तिर्नुपर्दा सकस छ । उहाँ भन्नुहुन्छ, “आम्दानी सुको छैन । बैंकको ऋण तिर्न र परिवार पाल्नका लागि अब तरकारी खेती गर्ने सोचमा छु ।”राप्ती सोनारी गाउँपालिकामा पर्ने नयाँ गाउँ होमस्टेको अवस्था पनि उस्तै छ । यहाँका प्रायः व्यवसायी विकल्पका रूपमा कुखुरापालन र तरकारी खेती गर्न थालेका छन् ।
दुई वर्षदेखि होमस्टे सञ्चालनको अनुभव बटुलेकी नानीकला जैसीले होमस्टे चलाउन नसकेपछि तरकारी खेती गर्न थालेको बताउनुभयो । ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्िरता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
“विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङ्रिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ”, प्रधानमन्त्रीले ट्वीटरमा लेख्नुभएको छ ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।











