कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ ।
घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य सङ्घले सक्रियता देखाएको छ । सङ्घले बन्दाबन्दी हुँदादेखि नै घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्दैसमेत आएको छ । हालसम्म बागलुङ बजारका झण्डै १५० घरधनीले घरभाडा छुटसमेत दिएका छन् ।
कोरोना भाइरसका कारण आफ्नै घरमा व्यवसाय गर्नेभन्दा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई निकै समस्या सिर्जना भएको छ । सङ्घले घरभाडा छुट दिनेलाई प्रोत्साहन गर्न थालेको छ । सङ्घको आग्रह वा स्वतःस्र्फूत रूपमा घरभाडा छुट गरेका घरधनीहरुलाई सङ्घले प्रोत्सानस्वरुप सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो ।
कोरोना महामारीमा व्यवसायीलाई धेरै मार परेको छ, भाडामा व्यवसाय सञ्चालन गर्नेहरुले भाडा तिर्न नसकी व्यवसाय बन्द गर्दा त्यसको मार घरधनीलाई समेत हुने गर्दछ, राजभण्डारीले भन्नुभयो “धेरै घरधनीले एक महिनादेखि पाँच महिनासम्मको घरभाडा छुट गर्नुभएको छ, उहाँहरुलाई कदरस्वरुप उद्योग वाणिज्य सङ्घले सम्मान गर्नेछ ।”
राजभण्डारीका अनुसार घरभाडा छुट दिने घरधनीको लगत सङ्कलन भइरहेको र आगामी उद्योग वाणिज्य सङ्घको साधारणसभामा सम्मान गरिनेछ । उहाँले घरभाडा छुट दिने घरधनीहरु बढ्दै गएमा साधारणसभा अघिनै सम्मान गरिने बताउनुभयो ।सङ्घका अनुसार हालसम्म बागलुङ बजारका करिब १५० घरधनीले आफ्नो घरमा सञ्चालित व्यवसायलाई घरभाडा छुट दिएको तथ्याङ्क छ ।
बागलुङका ठूला तथा साना व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले घरभाडा तिर्न नसक्दा व्यवसाय नै धरापमा परेको गुनासो गर्दै आएका छन् । हालसम्म बागलुङ बजारका एक दर्जन व्यवसायीले भाडा तिर्न नसकेर व्यवसाय नै बन्द गरेका छन् ।
उद्योग वाणिज्य सङ्घले घरभाडा छुट दिने घरधनीको सङ्ख्याका आधारमा कस्तो पुरस्कार दिने भन्ने निर्णयमा पुगिने बताएको छ ।









