जिल्लाको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरा प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष‘’ स्थापना गरिने भएको छ ।
बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाको आर्थिक सहयोगमा सो कोष स्थापना गर्न लागिएको हो । ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप राहत कोषअन्र्तगत रहने गरी सो कोष स्थापनाका लागि ती महिलाले रु २ लाख ५६ हजार ९ सय ३१ सहयोग गरेका छन् । उक्त कोषको ब्याजबाट बाढीपहिरोमा परी अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्यमा सीप तथा रोजगारीका लागि खर्च गरिनेछ ।
जिल्लाको गल्कोट नगरपालिका–८ की पार्वती हितान, काठेखोला गाउँपालिका–२ की इन्द्रकुमारी काउचा, सोही गाउँपालिका–३ की सावित्री खड्का, बागलुङ नगरपालिका–१ की जमुना थापा र सोही नगरपालिका–१३ की यशोदा शर्माले सो कोष स्थापनाका लागि उक्त रकम सहयोग गर्नुभएका हुन् । उहाँहरुकै आग्रहमा नगरपालिकाले ‘बालबालिकाका लागि शिक्षा तथा भविष्य कोष’ स्थापना गर्न लागेको हो । यो कोषले पीडित बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्ने नगर उपप्रमुख करमती पुनले बताउनुभयो ।
ढोरपाटनका बाढीपहिरा पीडित महिला तथा बालबालिकाका लागि ती महिलाले जिन्सी सामग्री सङ्कलन गरी वितरणसमेत गरेका छन् । वितरण गरिएका सामग्रीमा महिलाका लागि लुङ्गी एक सय थान, पेटीकोट एक सय थान, टि–सर्ट एक सय थान, भित्रीवस्त्र ९÷९ दर्जन, च्यादर ८० थान, प्याड २ बन्डल, किशोरीका लागि सुरुवाल ४० थान, चप्पल १०४ थान, टि–सर्ट ४० थान, भित्रीवस्त्र ३ दर्जन ४ थान, सेन्डो ३ दर्जन, स्यानिटरी प्याड ४० थान, बेलुन चप्पल ३१ थान र बालबालिकाका लागि कपडा ३१ थान, टोपी २७ थान, बिस्कुट ५ दर्जन, चकलेट २ पोका र नौ महिने शिशुका लागि ब्लाङ्केट एक थान, खेलौना ३५ थानलगायत छन् । ती सामग्रीको मूल्य रु २ लाख ४४ हजार ८ सय रहेको बताइएको छ ।









