कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा एकाई कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तरगत कर्णाली प्रदेशका सुर्खेत बाहेक नौ जिल्लामा प्रदेश लेखा एकाई कार्यालय स्थापना गरिएको हो ।
प्रदेशका कार्यालयहरु स्थापना नहुँदा मलेनिकाले कर्णाली प्रदेशका जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत लेखाको काममा सहजीकरण गरिरहेको थियो । प्रदेश मातहतका कार्यालयको लेखा प्रणाली नियन्त्रण, ब्यवस्थित बनाउन तथा सहजीकरण गर्न आफ्नै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेशका प्रदेश लेखा नियन्त्रक मानबहादुर वमले जानकारी दिनुभयो ।
सुखेतमा प्रदेशबाट हेर्ने गरी बाँकी नौ जिल्लामा प्रदेशको छुट्टै कार्यालय स्थापना गरिएको नियन्त्रक वमले जानकारी दिनुभयो । उहाँका अनुसार हुम्ला र सल्यानमा कार्यालय स्थापना गरिएको छ भने अन्य जिल्लामा एक हप्ताभित्र स्थापना गरिने छ । वित्तिय अनुशासन कायम गर्न तथा प्रदेशको बजेट लक्षित समुदायसम्म पु¥याउन बजेटको निकाशा तथा भुक्तानीमा सहज होस् भनेर कार्यालय स्थापना गरिएको हो ।
नियन्त्रक वमले एकाई कार्यालय स्थापनाले प्रदेशको अनुदानको खर्चको लेखाजोखा तथा रिपोर्टिङ्ग गर्न आफ्नो अनुदान कहाँ कति खर्च भएको छ यथार्थ जानकारी आउने विश्वास ब्यक्त गर्नुभयो । कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लेखा अधिकृत ७/८ तहको प्रमुख रहने गरी एक जना, ५/६ तहका दुई जना र एक जना कार्यालय सहयोगी रहने छन् ।
कर्मचारीको अभावको कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला जिल्लामा कार्यालय प्रमुखमा लेखा अधिकृत ७/८ तथा हुम्ला, मुगु, डोल्पा र कालिकोटमा भने कार्यालय प्रमुखमा अधिकृत ५/६ तहको दरवन्दीमा भएका छैटौँ तहका कर्मचारीलाई प्रमुखको जिम्मेवारी तोकिएको तथा सुर्खेतमा भने प्रदेश कार्यालयले नै हेर्ने नियन्त्रक वमले जानकारी दिनुभयो ।
[sidebar name="button post"]









