१८ भदौ, काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटनमा गएको बाढीपहि बाट भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक वक्तव्य जारी गरी ढोरपाटन नगरपालिकाको भुजी खोलामा बुधबार राति आएको बढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । “सङ्कटको यस घडीमा खोजी, उद्धार तथा उपचारमा खट्नेप्रति धन्यवाद व्यक्त गर्दछु”, उहाँले वक्तव्यमा भन्नुभएको छ, “बाढी पहिरोमा परी बेपत्ताको खोजी कार्य, प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको ध्यानार्कषण गराउँदै प्रदेश सरकारले आवश्यक सहयोग प्रदान गर्नेछ ।”
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा हालसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । यस्तै बाढीमा बेपत्ता हुनेको सङ्ख्या ४१ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।











