लकडाउनमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३३१ सवारी साधनमाथि ट्राफिक प्रहरले कारबाही गरेको छ । बन्दाबन्दीका बेला जथाभावी सवारी साधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनाका साथै कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउन थालिएको गत चैत महिनायता हालसम्म सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताउनुभयो । ट्राफिकका अनुसार बितेको पाँच महिनामा यहाँ ९३ बस, ५६ ट्रक, १८७ जीप, १६७ ट्र्याक्टर र ७६५ मोटरसाइकल कारबाहीमा परेका छन् ।
सवारी कारबाहीबाट ट्राफिक प्रहरीले रु सात लाख ८२ हजार राजश्वसमेत सङ्कलन गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । त्यसैगरी कोरोना कहरमा पश्चिमीनाका गड्डाचौकी हुँदै भारतको विभिन्न ठाउँबाट स्वदेश फर्किएका नेपालीलाई घरसम्म पठाउने सवारी साधन व्यवस्थापनमा ट्राफिक प्रहरी जुटेको थियो ।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेयता मास्क नलगाएर हिँड्डुल गर्ने व्यक्तिलाई कारबाही गरिरहेको छ ।









