८भदौ, काठमाडौं। कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
हिरासतमा कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा राखिएका ती थुनुवा आइतबार फरार भएको बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । पाँच सिसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए । आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजीका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।












