कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । वातावरण विभागको रु एक करोेडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितका उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिएका छन् ।
नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाका अनुसार केन्द्रले २ दशमलव ५ माइक्रोमिटरभन्दा साना धुलो पानीलगायतका कणहरुको मापन गर्नेछ । बजार क्षेत्रको प्रदूषणको अवस्था के कस्तो छ भन्नेबारे जानकारी दिने छ शाखा प्रमुख ठगुन्नाले भन्नुभयो, “डिस्पेले बोर्डमा देशभरिकै हावाको गुणस्तरबारे जानकारी लिन सकिने छ ।”
केन्द्रमा राखिएका उपकरणको मद्दतले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा कतातर्फ बगिरहेको छ, त्यसबारेमा समेत जान्न सकिने छ । सामान्यतया वायु गुणस्तर इन्डेक्सको सूचक ५० भन्दा कम भयो भने हावाको गुणस्तर राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सुरक्षित मानिन्छ ।
वायु गुणस्तरको सूचक ३०० भन्दा बढी भयो भने मानव स्वास्थ्यको लागि निकै खतरा मानिन्छ । उहाँका अनुसार भीमदत्तनगर बजार क्षेत्रको हावाको गुणस्तर सुरक्षित रहेको छ ।