गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुशार करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उहाँका पति र सासूलाई पक्राउ गरिएको हो ।
प्रहरी नायब उपरीक्षक घिमिरेका अनुशार पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताउनुभयो ।









