नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन् ।
मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरु कोरोनाको बढ्दो सङ्क्रमणका कारण कामकाज बन्द भएपछि साँझ बिहान हातमुख जोर्न समस्या भएको हो । यस बस्तीमा कुछबधिया समुदायका सहित करिब ३०० जनसङ्ख्या रहेको छ । दिनभर काम गरेर जोहो गर्ने अधिकांश परिवार यतिबेला थप समस्यामा परेका हुन् । अपाङ्ग, अशक्त, एकल महिला, वृद्ध, वृद्धा झनै अप्ठ्यारोमा परेका छन् ।
कोरोनाका कारणले कामकाज नहुँदा मजदूरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्टी पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिनुभयो ।भएको रासन, पैंसो सबै सकियो, काम गर्ने बातावरण पनि छैन र के गरेर गुजारा गर्ने हो भन्ने पीर परेको उहाँले बताउनु भयो ।
स्थानीय अगुवा लालबहादुर परियारले दैनिक गरिखाने आफूहरु कोरोना महामारीका कारण समस्यामा परेको उल्लेख गर्नुभयो । “खाने कुरा पनि छैन, काम पनि छैन, समस्यामाथि समस्या थपिएको छ”, अपाङ्गसमेत रहनुभएका परियार भन्नुहुन्छ, “कहीँकतैबाट खाद्यान्न सहयोग जुटाइदिनसके पुण्य काम हुनेछ ।”
नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कृष्ण कार्कीका अनुसार गत वैशाखमा वडा कार्यालयलगायतका सङ्घसंस्थाले राहत सहयोग गरेको भए पनि लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले उनीहरु समस्यामा परेका छन ।
उहाँले तत्काल वडा कार्यालयबाट सहयोग गर्ने अवस्था नरहे पनि विभिन्न सङ्घसंस्थामा सहयोगका लागि आफूले पहल गरिरहेकोे बताउनुभयो । यो बस्तीमा माइती नेपाल नेपालगञ्जले पाँच दिनसम्म तयारी खानाको प्रबन्ध गरेको थियो । कोरोना महामारीका कारण दैनिक जीविकोपार्जनमा समस्या भएका नागरिकलाई तयारी खाना वितरण कार्यक्रम अन्तर्गत गायत्रीनगरका ३०० नागरिकलाई खाना खुवाएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिनुभयो ।
आदर्श माविको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका उनीहरुलाई केही महिनाअघिमात्रै वडा कार्यालयको पहलमा त्यहाँबाट स्थानान्तरण गरेर व्यवस्थित गरिएको छ । डेढदशकअघिदेखिको बसोबासको किचलो अन्त्य गर्दै उनीहरुलाई वडा कार्यालयले नजिकैको खाली जग्गामा सारेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँका अनुसार, वडा कार्यालयमार्फत उनीहरुलाई व्यवस्थितरुपमा जग्गा उपलब्ध गराएसँगै घर बनाउनका लागि रु ५० हजारसमेत प्रदान गरिएको थियो । वडा कार्यालयले उपलब्ध गराएको जग्गामा घर बनाएर बस्ने व्यवस्था मिलाइरहेका बेला कोरोना महामारी फैलिएपछि अहिले उनीहरुको विचल्ली भएको हो









