३० साउन, काठमाडौं। कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकलेसो निर्णय गरेको हो ।
पास बनाएर आएका व्यक्तिहरूले पनि पछिल्लो तीन दिनयताको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघि पिसिआर परीक्षण गरेको रिपोर्ट अनिवार्य गराउने निर्णय गरेको छ। देश भित्रबाट आएका र भारतबाट आएका नेपाली नागरिकहरुलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिने बैठकले निर्णय गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकामा रहेको क्वारेन्टिनमा राखिने र सङख्या वढ्दै गएमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
प्रदेशका कर्मचारी र जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पिसिआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैठकले मास्क अनिवार्य प्रयोग गर्न/गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टिन वा स्थायी प्रकृतिको आइसुलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ ।
कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने र पिसिआर रिपोर्ट अनिवार्य गर्नुका साथै सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा रोक लागाउन कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।












