Ad #144479

लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको फैसलाले आठ दिन कैद र रु चार हजार जरिवाना तिर्न बाँकी रही फरार भएका उनलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार कैद र जरिवाना तिर्न बाँकी रहेका निज घर्तीको खोजतलास गर्ने क्रममा सम्बन्धित घर बतनमा नै लुकीछिपी बस्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।

अदालतसमक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी माक्स प्रयोग नगरी हिँड्ने एक हजार ४७ जनालाई कारवाही गर्दा रु एक लाख चार हजार ७०० राजस्व सङ्कलन भएको छ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशनबमोजिम यस जिल्लामा पनि सचेतना कार्य थालिएको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाइरस अनपेक्षितरुपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको अवस्थालाई मध्यनजर गर्दै माक्सको प्रयोगमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।