भारतबाट फर्किएकाहरुमा बेरोजगारीको समस्या

कोरोनाको सन्त्राससँगै भारतबाट फर्किएका नेपालीहरु परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । फर्किएर आफ्नै गाउँठाउँमा मजदुरी गरेर कमाइ गर्ने सोच बनाएको तर मजदुरीको काम नपाएर बेरोजगार बस्नु परेपछि आर्थिक समस्याले उनीहरुलाई चिन्तित बनाएको छ ।

कोरोनाका कारण भारतबाट फर्किन बाध्य भएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली बताउँछन्, “कमाएको जति सकियो, अब परिवारका ११ जना सदस्यलाई कसरी पाल्ने । आफ्नै ठाउँमा केही काम गर्ने सोच भए पनि कसैले ऋण दिँदैन ।” गत चैत ७ गते घर फर्किएका नेपालीले सिलाइकटाइ गर्ने आफ्नो पुख्र्यौली पेशा भए पनि सिलाइ मेसिन खरिद गर्न पैसा नहुँदा त्यसै बेरोजगार बनेको बताए ।

कृष्णपुर नगरपालिका वाणी गाउँका युवा वीरेन्द्र कठायत पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उक्त गाउँमा कठायतसहित करीब ५० युवा भारतमा देखिएको कोरोनाको त्रासपछि वैशाख महिनामा पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्किएका थिए । “काम नपाएपछि यतिबेला टोलमा भलिबल खेलेर दिन बिताउने गरेका छौँ”, कठायतले भने, “भारतमा काम पाउँदा हुने कमाइ घर पठाउँदा परिवार पाल्न सहज थियो, अहिले कमाइ बन्द हुँदा परिवार पाल्न गाह्रो भयो ।” कोरोनाको समस्या हटेपछि पुनः दिल्ली जाने योजना रहेको कठायतले जानकारी दिए ।

कोरोनाको त्राससँगै चैत महिनायता एक लाख चार हजार सुदूरपश्चिमवासी भारतबाट फर्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षको बजेट कार्यक्रममार्फत कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवाका साथै प्रभावित कृषकलाई लक्षित गरी व्यवसायमुखी र आत्मनिरभरतर्फ उन्मुख गराउन कृषि कार्यक्रम ल्याएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवा र कृषकलाई कृषि कार्यमा सहभागी गराउन व्यसायमुखी कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । यो कार्यक्रम कार्यान्वयनका लागि कृषक र बेरोजगार युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, मल बीउबिजन, सिँचाइलगायत अनुदान दिने गरी चालु वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]