कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीन महिना लामो बन्दाबन्दीका कारण ठूलो मारमा परेका बागलुङका होटल व्यवसाय खुल्न थाले पनि सुनसान जस्ता देखिएका छन् । सरकारको निर्णयसँगै यही साउन १५ देखि खुलाइए पनि व्यवसायी उत्साहित बन्न सकेका छैनन् ।
बन्दाबन्दी पछि केही चलायमान हुनेमा व्यवसायी आशावादी भए पनि कोरोना सङ्क्रमणको कारण होटल खुलाउने मात्रै काम भएको होटल व्यवसायीले गुनासो गरेका छन् । सरकारले न्यूनतम मापदण्ड पूरा गरी होटल खुलाउन भनेपछि होटल खुला गरेको भए पनि पाहुना नआएको शीतल पार्टी प्यालेसका सञ्चालक तालबहादुर कुँवरले बताउनुभयो ।
होटल हिल भ्यूका सञ्चालक ललिता थापाले होटलको ढोका खोले पनि तत्कालै उत्साहजनक हिसाबले पाहुना आउने अवस्था नरहेको बताउनुभयो । सामाजिक दूरी कायम गर्नुपर्ने र सुरक्षा मापदण्ड अपनाउनुपर्ने समयमा घुम्ने रहर भए पनि मनमै खुम्च्याउन पर्यटक बाध्य भएपछि पर्यटन व्यवसाय ठप्प भएको बागलुङ पर्यटन विकास समितका अध्यक्ष राजु खड्काले बताउनुभयो ।












