अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता

केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ ।

भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । बाढीबाट रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ बस्ने ५० वर्षीया सुकमानी थिङ बेपत्ता भएकी छन् । मङ्गलबार बिहान सो खोलामा पौडी खेल्न गएका थिङलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

यसैगरी नाम खुल्न नसकेका सर्लाहीका एक जना पौडी खेल्न गएकामा उनी पनि बेपत्ता छन् । सर्लाहीमा वाग्मती नदीले बगाउँदा दुई जनाको उद्धार गरिएको छ । वाग्मती नगरपालिका–१२ स्थित उक्त नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ । नदीमा दाउरा टिप्न गएका स्थानीयवासी २४ वर्षीय डेटमान गोले र १६ वर्षीय नीरज तितङ खोलाको मध्य भागमा फसेकामा प्रहरीले सकुशल उद्धार गरेको थियो ।

अविरल वर्षा र बाढीको कहरबाट मध्य तराईका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । बङ्गरी, दूधौरा खोलामा आएको बाढीले प्रसौनी गाउँपालिका–५ र ६ को करीब ३५० बिघा क्षेत्रफलमा लगाइएको धानबाली कटान गर्दा करोडाँैको क्षति भएको छ ।  यसैगरी अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ ।

बाढी र वर्षाले पश्चिमी पर्साका अधिकांश गाउँपालिकाको एकअर्को गाउँपालिकासँग सम्पर्क बिच्छेद भएको छ । हिलाम्य सडकका कारण मानिस तथा सवारी साधनको आवतजावत प्रभावित भएको छ । तीन दिनदेखि परेको वर्षाका कारण पश्चिमी पर्साका दर्जनौँ गाउँ डुबानमा परेको छ ।