अर्घाखाँचीको भैरव नाच सकियो

८ कार्तिक, अर्घाखाँची । अर्घाखाँचीका नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच यस वर्षलाई सकिएको छ । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा रहेको छ ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँसीसम्म नाचिन्छ । देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ ।

भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । बीचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा काल भैरव मुख्य हुन्छ । श्वेत भैरव र रक्तभैरव सहायक हुन् । साथमा डङ्किनी पनि हुने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतीकका रुपमा पूजा गरिन्छ । यद्यपि डङ्किनीलाई पनि पूजा गरिन्छ । डङ्किनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा शृङ्गार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ ।

तीनवटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौरी गाईको पुच्छर), मालासहित शृङ्गार गरी भगवान्को विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाँच संरक्षण समिति तथा भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

भैरवलाई आकर्षक बनाउन समयसापेक्ष शृङ्गार सामग्रीको प्रयोग गरिन्छ । यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ । बाजा बजाउनेहरू मुख्यरूपमा नेवार समुदायकै भए पनि सहायक बाद्यवादकमा अन्य जातजातिका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झल्काउँछ । यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ)लाई गुरु मादलका रूपमा राखिन्छ भने साथमा झुर्मा (झ्याली), सहनाइ, धङ्कुरीलगायतका वाद्यवादन प्रयोग गरिन्छ ।

सातवटै ताल (पटक)को लय फरक–फरक हुन्छ । तान्त्रिक विद्यामा निपूणहरूलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ । यसरी काम्नेमा दर्शक पनि हुन सक्छन् र नर्तक पनि । भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पु¥याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुने गर्दछन् ।

नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली), घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाचलगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायका विभिन्न प्रचलित एवं ऐतिहासिक नाचमध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ । भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिन्छ । यसको शैली भिन्ना–भिन्नै छ ।

अर्घाखाँचीको भैरव नाच गुल्मी, प्यूठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ । यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको आभास)समेत प्रदान गर्छ । जसका कारण यसले अन्य समुदायका व्यक्तिलाई पनि मोहित पार्ने गरेको छ ।

[sidebar name="button post"]