कालिका मन्दिरको भेटी सार्वजनिक, सङ्कलन रु ३५ लाख

बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा रु ३५ लाख ३७ हजार आठ सय ४९ भेटी सङ्कलन भएको जानकारी दिइएको छ । आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा रु १९ लाख ४० हजार ६ सय ६० खर्च भएको जनाएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि रु पाँच लाख दुई हजार, बिद्युत महशुलमा रु १८ हजार अतिथि सत्कारमा रु १४ हजार, आर्थिक दान रु १० हजार, पूर्वाधार निर्माणमा रु १२ लाख आठ हजार, खाद्यान्न तथा आवासमा रु ४४ हजार पाँच सय, मर्मत सम्हारमा रु १४ हजार सात सय ४३ तथा सांस्कृतिक कार्यक्रममा रु एक लाख २२ हजार पाँच सय खर्च भएको छ । अन्य खर्चमा रु ६ हजार देखाइएको छ ।

आम्दानीतर्फ भेटीमा मात्रै रु १९ लाख २२ हजार सङ्कलन भएको हो भने चामल बिक्रिबाट रु ८५ हजार, बोकाको टाउकोबाट रु दुई लाख १३ हजार, कुखुराबाट रु १७ हजार, राँगोबाट रु पाँच हजार आठ सय र घरभाडाबाट रु तीन लाख ८२ हजार सङ्कलन भएको हो । विवाह गरेको रु १३ हजार, आर्थिक सहयोगबाट रु एक लाख ७६ हजार तथा परेवाबाट रु ६ लाख ७६ हजार सङ्कलन भएको बताइएको छ ।

असोज महिनाभरमा भक्तजनले चाँदीको औँठी एक थान, चाँदीको सिक्का एक थान, चाँदीकै घोडा एक थान र सुनको टीका दुई थान भेटी चढाएका थिए । त्यस्तै चाँदीको पाउजु दुई जोर, सुनको मुन्द्रा एक वटा, सुनको तिलहरी एक तथा सुनको टुक्रा एक र चाँदीको ताज एक वटा अन्दाजी पाँच तोलाको चढाएको जानकारी गराइएको छ ।

[sidebar name="button post"]