कैलालीमा बाढी प्रभावितलाई नगद सहायता

२६ असोज, टिकापुर । कैलालीका यी दुई पालिकामा विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता गरेको छ । पूर्वानुमानमा आधारित सूचनाअनुसार गत वर्षको बाढीपछि सङ्कलन भएको तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई प्रतिपरिवार रु १५ हजारका दरले नगद सहायता गरिएको छ ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत टीकापुरका दुई हजार नौ सय १६ र जानकीका एक हजार दुई सय परिवारलाई नगद सहयोग प्रतिपरिवार रु १५ हजारका दरले वितरण भइरहेको नेपाल रेडक्रस कैलालीका हेमराज उप्रेतीले जानकारी दिनुभयो । “प्रभावित क्षेत्रका नागरिकको खातामा नगद सहायता पठाउने काम भइरहेको छ ।

उहाँहरूको नाममा रकम गएको छ । रकम झिक्नका लागि हामी विभिन्न ठाउँमा सहायता कक्ष बनाएर बसिरहेका छौँ”, उहाँले भन्नुभयो, “नगद सहायता अहिले ८० प्रतिशत प्रभावितले पाउनुभएको छ । बाँकी २० प्रतिशतले एक महिनाभित्र पाइसक्नु हुनेछ ।”

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी नगद सहायता बाढीकै समयमा दिँदा र पछि दिँदाको प्रभावबारे जानकारी पाउन र विपद्मा परेकालाई सहयोग हुने भएकाले गत वर्षको तथ्याङ्कानुसार नगद पाइरहेका बताउनुभयो । “पालिकाले पनि प्रभावितलाई राहत, समस्या भएकालाई उद्धारजस्ता कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बाढीले भत्किएका बाटाघाटा मर्मतलगायतका कार्यसमेत भइरहेका छन् ।”

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले यहाँ कर्णाली मुख्य समस्या भएको बताउनुहुन्छ । “कर्णालीकै कारण सबै क्षेत्र डुबानमा परे, कर्णालीमा तटबन्धलगायतका कार्य गरेर यसलाई बस्तीमा पस्नबाट जोगाएमा बाढीको दीर्घकालीन समस्या समाधान हुन्छ”, शाहीले भन्नुभयो, “प्रभावितलाई राहत दिने कुरामा प्राथमिकता हेरेर दिन्छौँ, महिला, बालबालिका, ज्येष्ठ नागरिक वा समस्यामा रहेकालाई पनि प्राथमिकता दिएर पालिकाले हेर्छ । राहत एकद्धार प्रणालीमार्फत जान्छ ।”

टीकापुरका नगरप्रमुख रामलाल डगौरा थारूले विभिन्न ठाउँमा डुबान भएकाले तथ्याङ्क लिने काम भइरहेकाले सबैको सल्लाह लिएर जोखिमअनुसार राहत दिने, समस्यामा परेकालाई उद्धार गर्ने गरी सहकार्य गर्न सङ्घसंस्थालाई आग्रह गर्नुभयो । “सहयोगी सङ्घसंस्था हामीलाई आवश्यक सामग्रीमा सहयोग गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “केही परिवारलाई नगद सहायता गएको छ । छुटेका परिवारलाई प्राथमिकता राखेर राहतका कार्यक्रम हुनेछन् ।”

उता भजनी नगरपालिकामा भने बाढीले हजारौँ प्रभावित भएका छन् । सयौँ परिवार एक सातादेखि सडक तथा खुला ठाउँमा बसिरहेका छन् । भजनीमा भने बाढी प्रभावितको अवस्था कष्टकर छ ।

[sidebar name="button post"]