संरक्षणको पर्खाइमा ‘शहीद स्मृति उद्यान’

१४ असोज, रामपुर। झट्ट उद्यान भन्ने बित्तिकै हरियाली फूलबारी, मनोरम दृश्य, बस्न आनन्दायक, सुन्दर र हरियाली बगैँचालाई बुझिन्छ । बाल उद्यान, जङ्गली जनावर, चराचुरुङ्गीसहितको सुन्दर मनोरम जहाँ पुग्दा मानिसका सारा दुःख र पीडा भुलाइदिने ठाउँ हो उद्यान ।

अवलोकन गर्नकै निम्ति विभिन्न ठाउँमा खर्च गरेर पुग्ने गरिन्छ । पाल्पा रामपुर नगरपालिका–५ स्थित बेझाड बजार दध्रानटारमा रहेको ‘शहीद स्मृति उद्यान’ नाम मात्रैको उद्यान बनेको छ । उद्यानले काँचुली फेर्नसमेत सकेको छैन । यहाँ आवश्यक पर्ने संरचना नहँुदा यो उद्यान क्षेत्रको दृश्य देख्दा लाजमर्दो छ । चारैतिर बारबन्देज गरेर राखिएको उद्यान झाँडीले भरिएको छ । बाख्रा चरन र स्थानीयलाई घाँस काट्ने थलोजस्तै बनेको छ ।

रामपुर नगरपालिकाले उपलब्ध गराएको सानो बजेटले उद्यानका लागि आवश्यक पर्ने संरचना तयार पार्न नसक्दा चौतर्फी आलोचना बढेको उद्यान निर्माण उपभोक्ता समितिका पूर्वअध्यक्ष तथा स्थानीयवासी महेन्द्र श्रेष्ठ बताउनुहुन्छ । “नगरपालिकाले यसलाई दीर्घकालीनरुपमा आम्दानी गर्ने लक्ष्यका साथ संरचना निर्माणमा लगानी गर्नुपर्छ”, उहाँले भन्नुहुन्छ, “पर्यटकलाई हेर्न लायकको सुन्दर र हरियाली उद्यान बन्यो भने आयस्रोत वृद्धिसँगै आनन्दसँग घुमघाम गर्ने थलो बन्नेछ, यसतर्फ स्थानीय सरकारले सोच्नुपुग्यो ।”

देशको लागि बलिदान दिने शहीदको सम्झनामा रामपुर क्षेत्रका क्रियाशील राजनीतिक दल, समाजसेवी, बुद्धिजीवीलगायतको सल्लाहमा करिब दुई दशक अघि यहाँ उद्यान निर्माणको अवधारणा ल्याइएको हो । विसं २०५८ मा करिब १५ रोपनी खुला चौरलाई उद्यानको रुपमा स्थापित गर्ने उद्देश्यले शहीद स्मृति उद्यान निर्माण कार्य थालनी गरिएको हो ।

जुन उद्देश्यले निर्माण कार्य सुरु गरिएको हो सोहीअनुरुप काम नहुँदा उद्यान अधुरै छ । चारैतिरको बारबन्देजले ठाउँ मात्रै ओगटेको छ । यस उद्यानलाई सुन्दर र हराभरा बनाएर प्रशस्त आम्दानी गर्ने सम्भावना भए पनि यहाँ रामपुर नगरपालिकाले चासो नदिँदा घाँसेमैदान र झाँडीका रुपमा चिनिन पुगेको छ ।

उद्यान निर्माणका क्रममा सुरुमा यहाँ एक हजार असोकाका बिरुवा रोपण गरिएको थियो । स्याहार संरक्षण नहुँदा ती बिरुवा हुर्कन पाएनन् । उद्यानको निर्माणको क्रममा एक व्यक्ति एक बिरुवा हुर्काउने अभियान पनि सञ्चालन गरिएको थियो । उद्यान निर्माण कार्यको समयमा यस क्षेत्रका सामाजिक व्यक्तित्व, बुद्धिजीवी, स्थानिय व्यक्तिले पनि बिरुवा रोपण, गोडमेल कार्यमा सहयोग गरेका थिए ।

सुरुका वर्ष उद्यानको रुपमा चिनिन पुगे पनि अहिले अलपत्रजस्तै बनेको छ । नगरपालिकाको कार्यालय तथा रामपुरको मुख्य बजार बेझाड बजार नजिकै पर्ने यो उद्यानमा यस क्षेत्रका जनप्रतिनिधि दैनिक यही उद्यान भएर ओहोरदोहर गर्छन् । उद्यानको स्तरोन्नतिको लागि अबको पाँच वर्षभित्रमा क्रमागतरुपमा योजना सम्पन्न गर्ने गरी रु दुई करोड ५० लाख बराबरको बजेट परेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ । “अहिले क्रमागतरुपमा ठूलै बजेट प्राप्त भएको छ, झाँडीले भरिएको उद्यान पाँच वर्षभित्रमा सुन्दर र हराभरा अवलोकनयोग्य पर्यटक लोभ्याउने खालको पार्कको रुपमा देख्न पाइनेछ, यसैबाट आयस्रोत वृद्धि गर्ने हाम्रो लक्ष्य छ”, उहाँ भन्नुहुन्छ ।

बालउद्यान, रुख विरुवा, शितल छहारीलगायतका पार्कका रुपमा हेर्न लायकका वस्तु यहाँ रहने वडाध्यक्ष पोखरेलको भनाइ छ । विभिन्न प्रजातिका बोट बिरुवा, फूलबारी, पानीका फोहोरा, बाल उद्यान, मन्दिर, चमेनागृहलगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने योजना रहेको छ । एकवटा कार्यालय भवन, चारैतिर पक्की पर्खाल निर्माण भएको छ । नगरको सुन्दरताका लागि यो उद्यान अतिआवश्यक छ । बेझाड बजार नजिकै रहेकाले पनि यो उद्यान नगरकै गहनाको रुपमा रहनेछ ।

पहिले यहाँ उद्यान बन्ने खबरले स्थानीयमा ठूलो उत्साह थियो । भौतिक पूर्वाधारको विकास हुन नसक्दा यसको रेखदेख र संरक्षणको अभावमा यस उद्यान अहिले नाममा मात्र सीमित बन्न पुगेको छ । गुरुयोजना बनाएर योजनाबद्ध तरिकाले काम गरेको खण्डमा यसले रामपुरकै पर्यटन विकासमा टेवा पुग्नेछ । आम्दानी बढाउने र पर्यटक भित्र्याउने गरी काम गरियो भने आयआर्जनको दरिलो माध्यम बन्दछ । बजारको आडैमा रहेको हुदा यहाँ पर्यटकलाई भित्रन सहज वातावरण छ ।

[sidebar name="button post"]