सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण

१८ पौष, बैतडी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४५६ जनाको नमूना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत दुई र एन्टीजेनमार्फत तीन जनामा कोरोना पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा दुई र एन्टीजेनमार्फत कैलालीका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोनाबाट चार जना निको भएका छन् । सो अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन ।

यसअघि शनिबार प्रदेशमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा तीन जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१४ जनाको ज्यान गएको छ ।